Sunday, June 13, 2021

तीन सय पर्ने अक्सिजन सिलिन्डर चीनबाट एउटैलाई ५० हजारमा किनेर ल्यायौँ : ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रण नहुनुमा राजनीतिक दलहरूले गरेका विभिन्न प्रकारका भेला र जमघट मुख्य कारक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २२औँ स्थापना दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नागरिककै जीवनरक्षाका लागि तीन–चार सय रुपैयाँ पर्ने अक्सिजन सिलिन्डर चीनबाट एउटैलाई ५० हजार रुपैयाँ तिरेर ल्याइएको र खोप उत्पादन गर्ने देश नभए पनि भारतपछि नेपालले लगाउन सफल भएको दाबी पेस गरे ।

ओलीले कसैको पनि मानव अधिकारको हनन हुन नपाओस् भनेर स्थापना कालदेखि नै मानव अधिकार आयोगलाई स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न दिनका लागि सरकार सदा सजग रहेको बताए । साथै आयोगको ऐन संशोधनलाई प्राथमिकतामा राखिएको जानकारी पनि उनले कार्यक्रममा दिए । आयोगले सरकारलाई गरेको सिफारिसप्रति ध्यान दिइएको जनाउँदै उनले सरकारले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्दै आएको र दिगो विकासका लक्ष्यको घरेलुकरणका साथै कार्यान्वयनमा जोड दिएको समेत स्पष्ट पारे ।

आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको रक्षाका लागि आयोगले सरकारलाई गरेका सिफारिसको प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष मगरले गत वर्ष कोभिड– १९ को महामारीमा मानव अधिकारको अवस्था अनुगमन गरी प्रतिवेदन प्रकाशनमा ल्याएको र साथै उक्त प्रतिवेदनमार्फत नेपाल सरकारलाई आवश्यक सेवामा सुधार तथा विपत् व्यवस्थापनका लागि सिफारिस एवं निर्देशनसमेत गरेको जानकारी गराए । उनले सरकारलाई विभिन्न तरिकाबाट ध्यानाकर्षण गराउँदै आएको पनि जानकारी दिए ।

उनले गत वर्ष नेपाल सरकारले जारी गरेको पञ्चवर्षीय मानव अधिकार कार्ययोजनाले प्राथमिकतामा राखेका १७ वटा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन भएमा देशको मानव अधिकार सुधारका लागि कोसेढुंगा हुने दाबी गरे । त्यसका लागि संघ, प्रदेश, जिल्ला र स्थानीय स्तरमा गठित समितिहरूबाट नियमित अनुगमन, मूल्यांकन हुुनु जरुरी रहेको उनको भनाइ थियो ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार